म कुनै राजनीतिक मान्छे थिईनँ न कुनै भ्रष्ट वा तस्कर - ध्रुव थापा

HTV Khabar ४ अशोज २०८२, आइतबार ०३:३२ मा प्रकाशित

काठमाडौं, भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनमा पोखरास्थित आफ्नो निजी घर तोडफोड र आगजनी गरिएपछि कुशल व्यवसायी तथा समाजसेवी ध्रुव थापा अत्यन्तै दु:खीत भएका छन्।
 
उनले युवा अवस्थादेखि नै आफ्नो दु:खजिलो गरेर व्यवसाय गरि आफ्नो परिवारको पालनपोषणका साथै लायन्स क्लबको मार्फत उल्लेखित रूपमा समाजसेवामा जीवन समर्पण गरेका थिए। तर जेन जी आन्दोलनका क्रममा उनको घरमा आगजनी र तोडफोड हुँदा उनको सम्पत्तिको त विनाश भयो भयो त्योसंगै एक निर्दोष बालिकाको पनि मृत्यु भयो। यो सबै दु:खद परिस्थितिबाट विचलित थापाले यस्तो लेखेका छन्। 

१७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह–अवरोह र जोखिम पार गरेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिनँ, अरू धेरैलाई पनि सिकाएँ। “नेपालमै उद्यम गर्नुपर्छ, नेपालमै सम्भावना धेरै छ“ भन्दै अभिप्रेरित गर्दै आएको छु। आफूले उद्यम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। युवा उमेरदेखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन, हामी दम्पती नै लागिरहेका छौँ। ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरू आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निःशुल्क प्रदान गर्यौँ। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्‍याईरहेका छन्।

हामी दम्पतीले विभिन्न सामाजिक संघसंस्थाहरूमार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौँ।आजका दिनसम्म आफूले जानेर, बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन। तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा, मन पनि जल्दो रहेछ।जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा–बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो। तर एकैछिनमा सबै खरानी बनाइदिए।

सम्पत्ति र घर गुमाउनुको पीडा त एकातिर छँदै थियो, त्यो पीडाभन्दा पनि धेरै पीडा हाम्रो परिवारकै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ।घटना हुनु केही क्षणअगाडि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नु परेको छ। घरमा मान्छे छन् भन्ने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेन जी ले गरेका हुन् वा त्यहाँभित्र अरू नै कोही थिए, समयक्रमले बताउँदै जाला। तर जोसुकै हुन्, ती क्रूर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओढेर उम्किन नपाउन। अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाइ राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो।के राजनीति गर्नु नै अपराध हो?

उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिलादेखि नै पोखराको एक सफल व्यवसायीको रूपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा, उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँका छोराहरूले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो, त्यो बिल्कुलै निराधार र कपोलकल्पित छ।उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले उहाँको बारेमा 
राम्रोसँग बुझेका छन्।

एउटा महत्वपूर्ण कुरा के भने, हाम्रो परिवार अहिले मात्र होइन, पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौँ हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ।मेरो दाजुले पनि विगतदेखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब–भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ।

उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये एक हुनुहुन्छ, जसले आफूसँग भएको सम्पूर्ण चल–अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए, कसैले यस्तो गथ्र्यो होला र? यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु।यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।
ध्रुव थापा