प्रहरीको मनोबल उच्च बनाउन रिफ्रेसमेन्ट कार्यक्रम

HTV Khabar २७ अशोज २०८२, मङ्गलबार ०४:१८ मा प्रकाशित

काठमाडौं,  जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।

एसएसपी अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई विहीवार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्ट डे’ मनाएका हुन्।

त्यसअन्तर्गत तल्लो दर्जामा कार्यरत ५० ट्राफिक प्रहरीलाई सिटी सेन्टरमा प्रदर्शनरत नेपाली फिल्म माइतीघर हेर्ने व्यवस्था मिलाइएको उपत्यका ट्राफिक प्रमुख  अधिकारीले बताए। अर्को हप्ता उनीहरूलाई हाइकिङको व्यवस्था मिलाइएको छ।

अघिल्लो शनिवार पनि उनीहरूलाई हाइकिङमा पठाइएको थियो। आजको शनिवार एउटा टोलीलाई कार्यालय सरसफाईमा र अर्कोलाई फिल्म हेर्न पठाइएको हो। अधिकारीले भने- ‘हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन् ।’

सधैं तनाव, धपेडी र विभिन्न किसिमका दबाबमा काम गर्नुपर्ने अवस्थामा मानसिक विश्रामका निम्ति यस्तो कार्य गरिएको अधिकारीले बताए।

अधिकारीका अनुसार, यस किसिमको रिफ्रेसमेन्ट कार्यक्रमले प्रहरीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक सोचपैदा गर्छ।सहभागी प्रहरीहरू पनि यसरी गरिएको कार्यक्रमप्रति निकै उत्साहित र आभारी भएको बताएका छन्।