बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काइँदैछ : प्रधानमन्त्री ओली

HTV Khabar ६ श्रावण २०८१, आइतबार ०६:०२ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा समस्यामा परेका १७ जना नेपाली विद्यार्थीलाई आईतवार स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका छन्।

परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई आईतवार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको ओलीले जानकारी दिएका हुन्।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्।सोहीअनुसार ती विद्यार्थीका परिवारसँग ओलीले शनिवार भेटवार्ता समेत गरेका थिए।

ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सक्नेगरी सूचना जारी गरेको पनि जानकारी गराएका छन्।

आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन्। हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ।

‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ।

यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ।

समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवंम् आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिङ्कमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ। 

निवेदन बंगलादेशबाट मात्रै होइन आफन्तहरुले नेपालबाट पनि दिन सक्ने परराष्ट्रले जनाएको छ। https://legal.nepalconsular.gov.np/passport गएर आवश्यक विवरण भरी फर्म सबमिट गरेर जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ।

साथै, देहायबमोजिमका व्यक्तिहरूलाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ।

परराष्ट्र मन्त्रालय, काठमाडौंमा महेश्वरमणि त्रिपाठीलाक्ई फोन नं. +९७७९८५११६६९८७ र इमेलः mahesh.mofa@gmail.com मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपाली राजदूतावास, ढाकामा द्वितीय सचिव योजना बम्जनलाई फोन नं. +८८०१८८०६९१०१३ र इमेल eondhaka@mofa.gov.np र eondhaka@dhaka.net तथा रिया क्षेत्रीलाई फोन नं. +८८०१७४५४०७९५८ र ईमेलः info@mofa.gov.np सम्पर्कगरी आवश्यक जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ।

साथै , बङ्गलादेशबाट हालसालै नेपाल फर्किएका वा अब फर्कने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा जानकारी गराइदिन पनि मन्त्रालयले जनाएको छ।