काठमाडौं, सुकुम्बासी संघले अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल सुकुम्बासी संघले देशभरका सुकुमबासीहरूको अधिकार र न्यायका लागि भोलि वैशाख ३१ गते आन्दोलन गर्ने घोषणा गरेको हो।
जसअनुसार संघले बिहान ५ बजेदेखि १० बजेसम्म पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध उक्त कदम चाल्नुपरेको संघका अध्यक्ष अमर परियारले बताए।परियारले अदालतले सुकुम्बासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुमबासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाए।
सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उनले उक्त कुराको निन्दा गरे। उनले सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताए।
उनले घोषित चक्काजाम कार्यक्रम कुनै पार्टी वा संगठन विशेषको मात्र नभई देशभरका सुकुम्बासीहरूको साझा अधिकारका लागि भएकाले सबै पक्षलाई सहयोग गर्न समेत अपिल गरेका छन्।