काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा ‘श्रम संसार रोजगार पोर्टल’ (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
विभागले जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहने तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत राख्नु पर्ने उल्लेख गरेको छ।
विज्ञापन पत्रिकारमा मात्रै प्रकाशित हुँदा नागरिक एपमार्फत जानकारी पाउन नसकिने भएकोले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको हो। विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचितसमेत गरेको छ।
नयाँ व्यवस्था अनुसार अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ। सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।