काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ।
विहीवार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो।
७ असारबाट सुरु भएको अभियान अब गाउँतहसम्मै पुर्याउने रास्वपा नेता दीपक बोहराले जानकारी दिए। उनका अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा चलेको हस्ताक्षर अभियान साउन ५ गतेबाट जनस्तरसम्म पुर्याउन घरदैलो अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ।
संगठित सहकारी ठगी प्रकरणमा रास्वपा सभापति हाल भैरहवास्थित कारागारमा पुर्पक्षको सजाय काटिरहेका छन्।लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले राजनीतिकर्मी, कलाकार र जनताको हस्ताक्षर संकलन गर्दै आएको छ।
अब अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने नेता बोहराले जानकारी दिए।
साथै उपचुनाव हुन लागेको रुपन्देही–३ का ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गर्ने रास्वपाले जनाएको छ। विदेशमा समेत लामिछानेका पक्षमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको विहीवार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
रास्वपाका अनुसार बागमती प्रदेशमा सबभन्दा बढी ६ लाख ३९ हजार ८६ जनाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै अभियानमा हस्ताक्षर गरेका छन्।
यस्तै गण्डकीमा ४ लाख, ३९ हजार ७२३, लुम्बिनीमा २ लाख ३६ हजार ५९५, कोशीमा १ लाख ६६ हजार ८६१, सुदूरपश्चिममा ९४ हजार ५३५, कर्णालीमा ४३ हजार ७७५, मधेशमा २० हजार ५०५ र केन्द्रीय कार्यालयमा ३३ हजार ३७० जनाले अभियानमा हस्ताक्षर गरेका छन्। यसबाहेक भर्चुअल र अन्य माध्यमबाट ७ लाख ९० हजार २३० जनाले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरका अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग प्राप्त भएको रास्वपाले जनाएको छ। यस अवधिमा ५९ लाख ६७ खर्च भएको भन्दै पार्टीले घाटा व्यहोरिरहेको नेता बोहराको भनाइ छ।