काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भोलि भदौ १४ गते शुक्रवार दिउँसो १:०० बजे भव्य तीज विशेष कार्यक्रम हुँदैछ।
नेपाली हिन्दु नारीहरुले मनाउने सबैभन्दा ठुलो पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा डिष्ट्रिक्ट ३२५ एम नेपालले इतिहासमा नै पहिलोपटक अत्यन्तै पृथक रूपमा तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।
पर्यावरणको संरक्षणसम्बन्धी सचेतना बढाउने उदेश्यसहित कार्यक्रममा मौलिक खानालाई प्रोत्साहन गरि सालको पातबाट निर्मित टपरीमा खाने व्यवस्था गरिएको कार्यक्रमकि संयोजक गीता शर्मा चापागाईंले एचटिभी खबरलाई बताइन्।
तीजको अवसरमा आयोजना गरिएको विशेष दरखाने कार्यक्रममा खानालाई मात्रै मौलिकता नदिएर संस्कृतिलाई पनि जगेर्ना गर्ने उदेश्य लिईएको संयोजक चापागाईंले प्रष्ट्याईन्। विभिन्न लायन्स क्लबहरुबाट मौलिक तीज गीत प्रतिस्पर्धा गराईने उनले बताइन्।
अझै यो पटकको कार्यक्रममा विशेष कुरा त टिकट सिस्टम राखिएको छैन। डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको निर्देशनअनुसार नि:शुल्क दरखाने व्यवस्था मिलाईएको पनि संयोजक चापागाईंले बताइन्।
यसै अवसरमा गभर्नर अर्यालले लायन्स क्लबका सदस्यलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हिन्दु महिला दिदीबहिनीहरुलाई तीजको शुभकामना दिदै तीज विशेष कार्यक्रममा सहभागी भइ आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्नपनि अनुरोध गरेका छन्।