आज केन्द्रीय दुग्ध सहकारी संघद्वारा देशभर चक्काजाम गर्ने

HTV Khabar १७ फाल्गुन २०८०, बिहीबार ०५:३६ मा प्रकाशित

काठमाडौं,  केन्द्रीय दुग्ध सहकारी संघले आज विहिवार चक्काजाम गर्ने घोषणा गरेको छ। देशभर बिहान १० बजे देखि १२ बजेसम्म संघले चक्काजाम गर्ने घोषणा गरेको हो।


दुग्ध सहकारी संघले दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्। विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन्।


जसअनुसार हिजो ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नाराजुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो। आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी छ। बितेको ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको भनाइ छ।


दुग्धको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दुग्ध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुग्धको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन्।


त्यस्तै बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दुग्ध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरूले माग गरेका छन्।