बूढानीलकण्ठमा हरिबोधनी एकदशी मेला ऐतिहासिक हुने

सबिन पन्त 'पृथक' २१ कार्तिक २०८१, बुधवार ०७:१६ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष संचालन हुदै आएको हरिबोधनी एकादशी मेला यसपटक ऐतिहासिक बन्ने भएको छ।

कार्तिक १९ गते बूढानीलकण्ठ नगरपालिका प्रमुख तथा मूल समारोह समितीका संयोजक मिठाराम अधिकारीको अध्यक्षतामा बसेको  बैठकमा गतवर्ष मेला सञ्चालन गर्दा भएको कमि कमजोरीको समिक्षा गर्दै केके कुनकुन कुरालाई कसरी गर्ने भन्ने वृहत् छलफल भएको थियो। 

ती देखिएका कमजोरीलाई सशक्त रूपमा  सुधार गरेर मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन सबैले आआफ्नो ठाँउबाट जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औल्याउँदै उपसमितिहरु गठन गरिएको व्यहोरा नगर उपप्रमुख अनिता लामाले पढेर सुनाएकी थिइन्। 

काम नगर्दा केही नहुने काम गरेपछि नि कमि कमजोरी हुने हो भन्दै नगर प्रमुख तथा मूल समारोह समिति संयोजक अधिकारीले कमजोरीमा एकअर्कालाई दोषारोपण गरेर भन्दापनि सबै सरोकारवालाहरु मिलेर नै आफ्नो जिम्मेवारी पूरा गरेर बूढानीलकण्ठको गौरव कायम गर्नुपर्ने बताए। 

"बूढानीलकण्ठको गौरव कायम रहनुनै सम्पूर्ण बूढानीलकण्ठ नगरवासीको प्रतिष्ठा कायम रहनु हो। त्यसैले मेलालाई भव्यताका साथ सम्पन्न गराउन सम्पूर्ण जिम्मेवारपक्ष दृढता पूर्वक लाग्नुहुन अनुरोध गर्दछु।" उनलेे भने।

कार्तिक २७ गते देखि ३० गते सम्म सञ्चालन हुने मेलामा देश विदेशका विभिन्न स्थानबाट बाक्लो शंख्यामा भक्तजनहरु आउने भएकोले यस पटक सहज र व्यवस्थित रुपमा दर्शन गर्ने व्यवस्था गर्ने तयारी गरिएको  बूढानीलकण्ठ क्षेत्र विकास समीतीका अध्यक्ष विदुर विक्रम खडकाले जानकारी दिएका छन्।

सो बैठकले अतिथि सत्कार तथा व्यवस्थापन , प्रचार प्रसार, सुरक्षा व्यवस्थापन, बजार व्यवस्थापन ,स्वयम सेवक परिचालन लगायत विभिन्न उपसमितिहरु गठन गरेको छ।