नेपाल संवत् ११४५ आजबाट, विविध कार्यक्रम गरी मनाइँदै

HTV Khabar १७ कार्तिक २०८१, शनिबार ०९:२७ मा प्रकाशित

काठमाडौं,  नेपाल संवत् ११४५ आज शनिवार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन्।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धरले जानकारी दिए।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।