अर्थोपेडिक अस्पतालमा डा.भण्डारीद्वारा मेडिकल डाइरेक्टरको पदभार ग्रहण

HTV Khabar २३ पौष २०७९, शनिबार ०४:०१ मा प्रकाशित

नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आईरहेको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा.कैलाशकुमार भण्डारीले पदभार ग्रहण गरेका छन्।

हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा.भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत रहेका थिए। डा.युवराज खरेलको कार्यकाल सकिएपछि डा.भण्डारी आगामी तीन वर्षका लागि पौष १५ गते उक्त पदमा नियुक्त भएका थिए। तर उनि अध्यात्मिक  भावनाका भएका हुनाले साईत जुराएर पौष २२ गते शुक्रवार मात्रै पदभार गह्रण गरेको  अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीले एचटिभी खबरलाई बताएका छन् ।                                                                    यस अस्पतालको विधान अनुसार मेडिकल डाईरेक्टरको पदावधि ३ वर्षको हुने गर्दछ। जसमा बोर्डलाई उपयुुक्त लागेमा २ वर्ष अवधि थप गर्नसक्ने व्यवस्था रहेको छ। यसै व्यवस्था अनुरुप डा.खरेल एकवर्ष पदावधि थपिएर कार्य गरेका थिए। डा.खरेलको पदावधि सकिएर पदमुक्त भएसंगै कार्यरत विशेषज्ञ डाक्टरहरु मध्येका सिनियर डा.कैलाश कुमार भण्डारी नियुक्त भएको मैनालीले प्रष्ट पारे।                                                                   सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए। यस अस्प्तालले त्यसयता नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।

गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। एक सय शैय्या रहेको यस अस्पतालमा हाल २१ जना विशेषज्ञ चिकित्सक रहेको पनि वरिष्ठ प्रशासकीय अधिकृत मैनालीले बताए।