स्वास्थ्य मन्त्री पौडेलको उद्घोषअनुसार नतिजा देखिँदै दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

सबिन पन्त 'पृथक' १५ फाल्गुन २०८१, बिहीबार ०४:५४ मा प्रकाशित

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ सुधारका लागि स्वास्थ्य क्षेत्रमा नतिजा देखिनेगरि कामगर्ने  उद्घोष गरेअनुसार नतिजापनि देखिँदै गएको छ। 

मन्त्री पौडेलकै पहलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ। एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा.समाज गौतमले बताए।

अहिले एक सिफ्टमा भैरहेको छ, उनले भने, एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं।

ल्याब क्षमता वृद्धि
निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए। ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं, उनले भने, बाहिर प्रयोगका लागि गईरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ।

डा.गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याईसकिएको बताए। अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ, उनले भने, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन्।

अस्पतालको सफाइका लागि काम शुरु
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ। शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भईरहेको निमित्त निर्देशक गौतमले बताए। हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं, उनले भने, यसको नतिजा पनि चाँडै देखिनेछ।

डा.गौतम एक साता अघिदेखि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा सम्हालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन्। यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए। यसैअनुसार सुधार अघि बढाइरहेको डा.गौतमले बताए।