भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त

HTV Khabar १५ चैत्र २०८०, बिहीबार ०६:४६ मा प्रकाशित

काठमाडौं, भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा.उज्जवल चालिसे नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विहिवार मन्त्रीस्तरीय निर्णय गर्दै डा.चालिसेलाई निर्देशकमा नियुक्त गरेका हुन्।

अर्को व्यवस्था नभएसम्म लागि निमित्तको जिम्मेवारी पाएका डा. चालिसेले नियुक्त पत्र बुझेको बताए। ‘दिँउसो नियुक्त पत्र बुझे। मन्त्रीज्यूले प्रशासनिक सहितको आर्थिक जिम्मेवारी दिनुभएको छ,’ चालिसेले भने, ‘मैले यहाँको समस्यालाई राम्रोसँग बुझेको छु। अब संस्थालाई उचाई दिने काम गर्छु ।’यसअघि पनि उनले निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए।

तर बीचमा डा.विष्णुदत्त पौडेलले सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि उनी जिम्मेबारीबाट हटेका थिए। पौडेलले राजीनामा दिएपछि तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा.ऋषिकेश नारायण श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका थिए।डा.श्रेष्ठले उमेरका आधारमा बुधवारदेखि अवकाश पाएसँगै चालिसेलाई जिम्मेवारी दिइएको हो।