ट्राफिक प्रहरीले भन्यो- यात्रामा सावधानी अपनाउनु होला

HTV Khabar १७ अशोज २०८२, शनिबार ०७:०० मा प्रकाशित

काठमाडौं,  काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीले सुरक्षालाई प्राथमिकता दिएर यात्रा गर्न अनुरोध गरेको छ।

काठमाडौंको प्रमुख नाका नागढुंगामा प्रहरीले माइकिङ गर्दै अत्यधिक वर्षाको प्रक्षेपण भएकाले यात्रामा सावधानी अपनाउन भनेको हो।

वर्षा र बाढी पहिरोका कारण यात्रामा जोखिम हुने भएकाले सुरक्षालाई ख्याल गर्न कुनै खतरा महसुस भए नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन सम्पर्क नम्बर १०० मा फोन गर्न ट्राफिक प्रहरीले भनेको छ।

प्रहरीले चालक र सहचालकको मोबाइल नम्बर समेत संकलन गरेको छ। विपद परेका बेला यात्रुहरु सुरक्षित छन् कि छैनन् भनेर जानकारी लिन पनि मोबाइल नम्बर नोट गरेको नागढुंगा प्रहरीले जनाएको छ।

प्रहरीले लामो दुरीका सवारी साधनलाई दुई चालक अनिवार्य रुपमा राख्न, लेन अनुशासन पालना गरेर मात्रै यात्रा गर्न प्रहरीले भनेको छ।
  
हिजो बेलुका नागढुंगा हुँदै एक सय सवारी साधनमा ४ हजार २५७ यात्रुहरु बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। ती सबै सवारी चालक तथा यात्रुहरुलाई सम्भावित जोखिम तथा सुरक्षित यात्राका लागि सुसूचित गराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार ती सबै सवारी साधनको प्रवेश दर्ता गरी चालकको नाम र सम्पर्क नम्बरसमेत राखिएको हो।