रासायनिक मलको अभाव हुन्न, खेतबारी हराभरा बनाऔं : प्रधानमन्त्री ओली

HTV Khabar २६ श्रावण २०८२, सोमबार ०७:५० मा प्रकाशित

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने बताएका छन्।

आईतवार सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको दाबी गरेका हुन्। उनले हालको मौज्दात र आउने क्रममा रहेको मलको विस्तृत विवरण सार्वजनिक गरे।

उनले हाल कृषि सामग्री कम्पनीसँग २९ हजार १११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३ हजार ७१२ मेट्रिक टन गरी कुल ४२ हजार ८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मल मौज्दात रहेको जानकारी दिए।

साथै, थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेकाले किसानलाई अभाव नहुने उनको दाबी छ।

प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन किसानहरूलाई अनुरोध गरेका छन्। ‘खेतबारी हराभरा बनाऔं,’ उनले लेखेका छन्।