निर्वाचन आयोगले दियो जसपा विभाजनलाई मान्यता, टुक्रीयो जनता समाजवादी पार्टी

HTV Khabar २५ वैशाख २०८१, मङ्गलबार ०६:४१ मा प्रकाशित

काठमाडौं, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आयोगले विभाजनलाई मान्यता दिइ सोमवार अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) दर्ता गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जसपाका ७ सांसद र ३१ केन्द्रीय सदस्यले आइतबार राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। आबयोगले निवेदन दर्ता भएको २४ घण्टा नबित्दै नयाँ दल दर्ता गरेको हो।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले आयोगका पदाधिकारीको सोमवार बसेको बैठकले राई नेतृत्वको दल दर्ता गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसार दल दर्ताको निर्णय गरेको हो।

आयोगले नयाँ दल दर्ता गरेसँगै जसपा नेपालमा सांसदको संख्या १२ बाट ५ मा झरेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री हुने लोभमा नेपाली कांग्रेससँग मिलेर सत्ता गठबन्धन फुटाउन खोजेको भन्दै ७ सांसदले आईतवार नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।