भारतसँग ऊर्जा विकास सम्झौता, अन्तरदेशीय प्रसारण लाइन बन्ने

HTV Khabar १० वैशाख २०८२, बुधवार ०९:२९ मा प्रकाशित

काठमाडौं,  नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारतसँग सम्झौता भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी कामबारे सम्झौता भएको हो।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा.यतिन्द्र दुवेदीले संयुक्त हस्ताक्षर गरेका छन्। समझदारी अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ। बाँकी ४९ प्रतिशत अर्को देशको रहनेछ।

प्रसारण लाइनमध्ये इनरुवा–न्यु पूर्णियाको लम्बाई नेपालतर्फ २५ र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोधारा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहेको छ।

मन्त्री खड्काले अरुण–३, लोअर अरुण, अरुण–४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६ र पश्चिम सेतीजस्ता ठुला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गरे।

कार्यक्रममा भारतका विद्युत्मन्त्री खट्टरले दुई देशबिच ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको द्योतक भएको उल्लेख गरे।  खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।