नयाँ बर्षमा नुवाकोटमा माङ्चेभुमे जात्रा लाग्ने

सबिन पन्त 'पृथक' २७ चैत्र २०८०, मङ्गलबार ०८:१८ मा प्रकाशित

काठमाडौं, नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं.१ मा सदाको बर्ष झैं नयाँ बर्षको अवसरमा भगवान माङ्चेभुमेको जात्रा लाग्ने भएको छ।

शिवपुरी गाउँपालिका वडा नं. १ को छुली डाँडाअवस्थित मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन।

यस भेगको वरपर रहेको देविस्थान, खोलेखर्क, साल्मे, सेमोङ्पोखरी, शेर्पा गाउँ, पुरानो गाउँ, बिनडाडा, डाँडाखर्क, तलाखु, छाप, शिवालय, गोल्फुभञ्ज्याङ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका लगायतका दर्जनौ समुदायहरुले यहाँ रहेको भगवान माङ्चेभुमेलाइ पुज्ने गर्दछ।

भगवानको थानमा खडेरीको समयमा बाजागाजा सहित पानी माग्दा पानी पर्ने बिश्वास अझै पनि रहेको पाइन्छ। परापुर्वकालमा कुनै पनि कार्य गर्नुपर्दा अघिल्लो दिनै भाँडाकुँडा माग्दा भाडाकुडा भाँडाकुँडा दिने किम्बदन्ती रहेको छ। पछि जुठै भाँडाकुँडा लगेर बुझाएपछी दिन छाडेको भनाइ छ।

यहाँ पाप र धर्म द्वार पनि रहेको बताइन्छ। करिव १०० मिटर लामो सुरुङ अहिलेपनि रहेको र धर्मात्मी मानिस मात्र यो सुरुङमा छिर्न सक्ने यहाँको समुदायले बताउने गर्दछन्। सुरुङ भित्र मादल सहितको धेरै बाजागाजा अझै पनि रहेको बताउने गर्छन्।

अन्य समयमा व्यक्तिगतरुपमा सयौं पुजाआजा हुने गरेपनि आन्तरिक पर्यटन प्रवर्द्धनको लागि २०७९ सालबाट नयाँ वर्षको दिन पारेर जात्रा आयोजना गरेको जात्रा व्यवस्थापन तथा संरक्षणका अध्यक्ष इश्वर गुरुङले बताए। पहिलो बर्ष नै २ दर्जन भन्दा धेरै झाँक्री समूह र १ हजार भन्दा धेरैले जात्रा अवलोकन गरेको बताए।

काठमाडौं को सुन्दरीजलबाट करिब ४०/५० किमि दुरीमा अवस्थित स्थानमा हुने जात्रामा २०८० सालको नयाँ वर्षको जात्रामा काठमाडौं बाटपनि सयौं श्रद्धालु भक्तजनहरु सहभागी भएको बताउँदै यस वर्ष अझै यो संख्या अझै बढ्ने आकलन गरिएको ब्यवस्थापन समितीका गुरुङले बताए।

जात्रामा स्थानिय परिकार र सांस्कृतिक झाँकीहरु पनि आगन्तुकले देख्न पाउने उनले बताए। भगवान माङ्चेभुमे जात्रा संरक्षण तथा व्यवस्थापन समितीले उक्त दिन जात्रामा सहभागी भएर भगवानको दर्शन गर्न आग्रह गरेको छ।