काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यार्थीलाई छात्रवृत्ति नदिने विद्यालयलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
महानगरले जारी गरेको सूचनाअनुसार हालसम्म ०८२ शैक्षिक सत्रमा ४४० विद्यालयले विवरण बुझाएका छन्। यी विद्यालयमार्फत १६ हजार ९८० विद्यार्थीले छात्रवृत्ति पाइसकेका छन्।
तर, अझै केही विद्यालयले विवरण नबुझाएको भन्दै शाहले ती विद्यालयलाई यथाशीघ्र विवरण बुझाउन आग्रह गरेका छन्।`विवरण पेस नगर्ने विद्यालयलाई बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम स्वीकृति वा अनुमति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ शाहले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।
यस शैक्षिक सत्रमा मात्र २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको शाहले जानकारी दिएका छन्। उनले विद्यालयहरूले सामाजिक दायित्व पुरा गर्नैपर्ने भन्दै पारदर्शी रूपमा विवरण बुझाउन पनि जोड दिएका छन्।