काठमाडौं, बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटनामा प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्टमाथि कारबाही गरिएको छ।
यातायात व्यवसायीले १ फागुनमा गरेको प्रदर्शनमा व्यावसायिक जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्षसहित विष्टलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सो घटनाबारे छानिबन गर्न गठित डीआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले दिएको सिफारिस अनुसार बढुवा रोक्काको निर्णय भएको छ। यस्तै तत्कालीन समयमा प्रहरी वृत्त, सोह्रखुट्टेमा कार्यरत डीएसपी गणेशबहादुर बमलाई भने सचेत गराइएको छ।
उक्त आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो। यस्तै, अस्थायी प्रहरी बिट जलाउनुका साथै ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो।सोही क्रममा ल्होत्से मलमा पनि रहेका मोबाइल पसलमा पनि लुटपाट भएको थियो।