कागेश्वरी मनोहरा नगरपालिकाले ६८औं राष्ट्रिय सहकारी दिवस मनायो

सबिन पन्त 'पृथक' १९ चैत्र २०८१, बुधवार ०८:२५ मा प्रकाशित

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा "सहकारीको वर्तमान अवस्था, चुनौती र समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ।

नगर उप-प्रमुख शान्ता थापाको अध्यक्षता र नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सहकारी अभियन्ता तथा सहकारी संचालकहरुको उपस्थिति रहेको थियो।

नगरकै सभाकक्षमा सहकारी शाखा प्रमुख विश्वास ज्ञावालीले सञ्चालन गरेको कार्यक्रममा सहकारी अनुगमन समितिका सदस्य गया प्रसाद उपाध्यायले कार्यक्रममा सहभागीहरुलाई सार्गर्भिक मन्तव्यद्वारा स्वागत गरेका थिए।

कार्यक्रममा उपस्थित सहकारीकर्मीले आफ्नो मन्तव्य राख्दै सहकारी संस्थामा ग्राहक नभएर सदस्य बनाउन सुझाव दिएका थिए। सहकारीको काम कर्तव्यनै शेयर सदस्यहरुको जीवनस्तर उकास्न रचनात्मक, सिर्जनात्मक उत्पादन कार्यमा लगानी गर्नुपर्ने बताए। 

कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सहकारी संस्थाहरुले बचतको न्युनतम ५ प्रतिशत उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्। कार्कीले ‘एक सहकारी न्युनतम एक उद्यमशीलता’को नीतिअनुसार एक सहकारीले बचतको पाँच प्रतिशत रकम खर्च गर्नुपर्ने बताए।

नगर प्रमुख कार्कीले नीति र नियमअनुसार नचल्ने नगरभित्र संचालित सहकारीलाई अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिदै सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि टेवा पुर्‍याएको भएपनि सहकारीले उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा सहकारी सम्बन्धि सचेतनामूलक लघु चलचित्र 'वचत' प्रदर्शन गरिएको थियो भने विशेष योगदान पुर्‍याउने कलाकार र प्रहरीलाई सम्मान गरिएको थियो।