काठमाडौं, अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत देशमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रा.लि.का सञ्चालक सूर्यबहादुर डाँगीलाई पक्राउ गरेको हो।
डाँगीले कलेज शुल्क र इन्स्योरेन्स पोलिसीको भुक्तानी छिटो र सहज हुने भन्दै आफ्नो कम्पनीको बैंक खातामा रकम जम्मा गराउन लगाई पीडितहरूलाई झुटो आश्वासन दिँदै विश्वासमा पारेर जम्मा रु २६ लाख ८ हजार ५६५ ठगी गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।
उनका अनुसार उनले सम्बन्धित विश्वविद्यालय तथा इन्स्योरेन्स कम्पनीमा भुक्तानी गरेको कुनै प्रमाण नदिई विभिन्न व्यक्तिबाट रकम संकलन गर्दै आएका थिए। उनलाई पुस ७ मा लैनचौर क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।
३५ वर्षीय डाँगी उदयपुर त्रियुगा नगरपालिका–११ परिवर्तित ६० जलजले स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर बस्दै आएको प्रहरीले जनाएको छ।
उनको साथबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, मोबाइल २ थान, कन्सल्टेन्सी तथा अन्य कम्पनीका छापहरू, करिब ५५ पाना कागजात र हिसाबकिताबका रजिस्टर २ थान बरामद गरिएको छ।
यस्तै यसअघि पनि उनी ३० लाख भन्दा बढीको चेक बाउन्समा पक्राउ परेका थिए। डांगी यसअघि पनि पटक पटक ठगीमा मुछिदै आएका व्यक्ति हुन्।
