काठमाडौं, अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले सन् २०२२ को कतार विश्वकपमा लगाएका ६ वटा जर्सीलाई अक्सनमा राखिँदैछ। यो महिनाको अन्तिममा बिडिङ सुरु हुनेछ। मेसीले लगाएको जर्सी, खेलकुद जगतकै सबैभन्दा मूल्यवान हुने अनुमान गरिएको छ।
सेतो र निलो रंगको जर्सीको अक्सन नोभेम्बर ३० देखि सुरु भएर डिसेम्बर १४ मा बन्द हुनेछ। सोही बेला सर्वसाधरणका लागि जर्सीलाई प्रर्दशनीमा पनि राखिनेछ। जर्सीको संकलनले दश मिलियन डलरभन्दा बढी मूल्य पाउने विश्वास गरिएको छ।
संकलनमा मेसीले विश्वकप फाइनलमा फ्रान्सविरुद्ध पहिलो हाफमा लगाएको जर्सी पनि समावेश छ। अक्सनबाट प्राप्त रकमको केही हिस्सा लियो मेसी फाउन्डेसनको पनि सहयोग रहेको बार्सिलोनाको बाल अस्पताललाई प्रदान गरिनेछ।
खेलकुदको मूल्यवान वस्तुको कीर्तिमान अमेरिकाका माइकल जोर्डनको नाममा छ। उनले सन् १९९८ को एनबीए फाइनलमा लगाएको जर्सीले गत वर्ष दश दशमलव एक मलियन डलर मूल्य पाएको थियो।