काठमाडौं, विहिवार ७ साउन

जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई साउदी अरबले प्रवेश अनुमति दिएको छ। साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ। 

दूतावासका अनुसार खोप लगाएको १४ दिनपछि साउदीमा प्रवेश गर्दा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ। घर बिदामा गएका वा नयाँले आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन दूतावासले अनुरोध गरेको छ। खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्यरुपमा साथमा लिएर जान समेत दूतावासले अनुरोध गरेका छ। साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ।

साउदी प्रवेशका लागि त्यहाँ अनुमति प्राप्त खोपमध्ये फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको २ वटै डोज लगाईसकेको वा जोन्सन एण्ड जोन्सनको खोप ( यो खोप १ डोजको मात्रै हुने ) लगाएको १४ दिन कटिसकेको हुनु पर्नेछ।

फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटिसकेको छ वा कोरोना संक्रमण भएर निको भएको ६ महिना कटेको छैन भने प्रवेश पाउने दूतावासले जनाएको छ।

यसअघि नेपालमा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध नहुँदा साउदी प्रवेश गर्ने नेपालीले संस्थागत क्वारेन्टिन बापत एक लाख रुपैयाँ भन्दाबढी रकम तिर्दै आएका थिए।

साउदी सरकारको यो निर्णयसंगै अब विभिन्न समयमा घर बिदा नेपाल गएर खोपका कारण फर्किन नसकेका नेपाली श्रमिकले अब भने सहज रुपमा प्रवेश पाउने छन्।

Leave a Reply

You may also like

%d bloggers like this: