काठमाडौं, बुधवार २३ असार

कोरोना महामारीमा पिल्सिएका नेपालीलाई हप्तैपिच्छे मूल्य वृद्धि गरेर नेपाल आयल निगमले झनै पीडा थपेको छ। पछिल्लोपटक मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मङ्गलबार फेरि इन्धनको मूल्य बढाएको हो। खाना पकाउने एलपी ग्यासको पनि मूल्यवृद्धि गरेको छ।

राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई दुई रुपैयाँले वृद्धि गरिएको हो। यसअघि गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो। अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ।

त्यसैगरी डिजेल/मट्टितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुगेको छ।

त्यसैगरी यसपटक खाना पकाउने ग्याँसको मूल्य पनि बढेको छ। प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि भएपछि अब ग्याँसको मूल्य रु १४२५ रुपैयाँ कायम गरिएको छ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ।

Leave a Reply

You may also like

%d bloggers like this: