उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

HTV Khabar ३ चैत्र २०७९, शुक्रबार १०:३० मा प्रकाशित

उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो। 

मतगणनापछि आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो। मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गगरेका छन्।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। 

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम छ। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। 

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ।