काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धि अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको छ।
जनस्वास्थ्य महाशाखाको आयोजनामा भएको कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षकहरुको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा नगर जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले प्रशिक्षण दिएका थिए।
दाहालले कार्यक्रममा आत्महत्या, यसको लक्षण, कारण, रोकथाम र न्यूनीकरण के कसरी गर्न सकिन्छ भनेर सचित्र प्रस्तुति गरेका थिए। विशेष गरि १८ वर्षदेखि ३५ वर्षका मानिसले अत्यधिक आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य प्रमुख दाहालले ९५% आत्महत्या दिर्घ रोग वा मानसिक रोगको कारणले हुने र ५% मात्रै क्षणिक आवेग र सनकको कारण हुनेगरेको स्पष्ट पारे।
करिब १ घण्टा लामो समयसम्म चलेको अभिमूखीकरण कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यालयका विद्यार्थीहरुमा पनि यस्ता समस्या आउनसक्ने आकलन गरि आत्महत्या सम्बन्धि महत्त्वपूर्ण कार्यक्रम गरेर जानकारी दिएकोमा अत्यन्तै खुशी लागेको बताए।
नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा नगर शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल, उपमा दाहाल, जनस्वास्थ्य निरीक्षक उमेश गौतम, सम्झना कुँवर, जीवन र प्रतिभा रेग्मीलगायत विद्यालयका नर्सहरुको उपस्थिति रहेको थियो।