फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना

HTV Khabar २४ कार्तिक २०७९, बिहीबार ११:५३ मा प्रकाशित

काठमाडौं, नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ।

सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ।

नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा गत वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो।

उक्त प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्वीरहरु आगामी मंसिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र समावेश गरिने जनाइएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार राखिएको छ।

त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरुप रु १० हजारका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज एक सूचना जारी गरी जनाएको छ।