काठमाडौं, बागमती प्रदेशमा नेपाली काङ्ग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ। मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ।
संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँ उम्मेदवार छन्। उनीहरु दुवै संस्थापन पक्षका हुन्।
बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए। अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यसपटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन्।
बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी काङ्ग्रेसबाट कूल ३७ जना सांसद छन्।
दलको नेता चयन गर्दा संस्थापन पक्षकै सांसदहरु दुईतिर विभाजित हुँदा शेखर समूह निर्णायक बन्न सक्छन्। यद्यपि यो समूह कतातिर खुल्ने हो टुंगो छैन।