रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ।
आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाठामगर, बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा के.सी. खनाल र उनको २२ दिनको छोरा रोशन के.सी.को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिएका छन्।
दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ। दुर्घटनामा परेर १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई उपचारका लागिहेलिकप्टर मार्फत शिक्षण अस्पताल कोहलपुर पठाइएको छ।
घाइते हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाठा मगर, सोही वडाका २२ वर्षीय ललित बाठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता के.सी. रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ। सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना के.सी., ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।
सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो। उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।