बर्दघाटमा एक जना पुरुषको हत्या, महिला सख्त घाइते

HTV Khabar ७ मंगशिर २०७९, बुधवार ०४:२२ मा प्रकाशित

काठमाडौं, पश्चिम नवलपरासीको बर्दघाटमा एक जना पुरुषको हत्या भएको छ।

बर्दघाट नगरपालिका वडानम्बर ४ हाटबजार नजिकैको घरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन्।

मृतकको पर्समा भेटिएको नागरिकता अनुसार मृतक गण्डकी प्रदेशको बाग्लुड जिल्ला जलजलाका दिलीप कुमार पुन भएको प्रहरीले जनाएको छ।

सोही घरमा अन्दाजी ४७ वर्षीया एक महिला पनि सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।

घाइते महिलालाई चिसापानी अस्पताल बर्दघाटमा पुर्‍याइएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

राति करिब ८ बजेतिर भएको घटनामा संलग्नको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुर र विद्युतीय संयन्त्रको प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी र पर्स फेला परेको छ।