काठमाडौं, दरबारमार्ग क्षेत्रको सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज एक घण्टा सटर बन्द गर्दैछन्।
काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा आज अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म (एक घण्टा) सटर बन्द गर्न लागिएको हो। काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पौष देखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ। पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ।
दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेध गरिएको विरोधमा सटर बन्द गरेर काठमाडौं महानगरपालिकाको सांकेतिक विरोध जनाउन लागिएको बताएका छन्। दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न अनुरोध गर्दै दरबारमार्ग विकास बोर्डको अगुवाइमा त्यहाँका व्यवसायी/व्यापारीहरुले विरोध जनाउँदै आएका छन्।
दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको दरबारमार्गमा दुईतर्फी दुई/दुई लेन सडक छाडेर एकातर्फ एक लेनमा पार्किङ राखिँदै आएको थियो। व्यापारीहरुकै योजना अनुसार सुरुमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि पछि काठमाडौं महानगरपालिकाले सवारी धनीहरुबाट पार्किङ शुल्क उठाउँदै आएको थियो।