पूर्ववडाध्यक्षको आफ्नै घरमा जलेर मृत्यु

HTV Khabar १८ पौष २०७९, सोमबार ०४:२६ मा प्रकाशित

काठमाडौं, कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन्।

निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।

वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो। राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे। उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन्। आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए। के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन।