एसिया कपमा आज अफगानिस्तान र श्रीलंका खेल्दै

HTV Khabar १९ भाद्र २०८०, मङ्गलबार ११:१७ मा प्रकाशित
काठमाडौं, एसिया कपको छैटौँ खेल आज अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्दै छन्। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ। समूह ‘बी’को सुपर फोर दौड रोमाञ्चक बनेको छ।

अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्दै बंगलादेश सुपर फोर मा छनोट भइसकेको छ। एक स्थानका लागि श्रीलंका र अफगानिस्तान आज भिड्दै छन्। एसिया कपमा श्रीलंकाको यो दोस्रो खेल हो। उसले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो। अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। यस वर्ष जुनमा एक दिवसीय ढाँचामा दुवै टोली आमनेसामने भएका थिए।

श्रीलंकाले तीन खेलको एक दिवसीय शृंखला २–१ ले जितेको थियो । श्रीलंकाले पछिल्लो ११ एक दिवसीय खेल जितेको छ। श्रीलंका लगातार १२ औं जितको खोजीमा छ।
अफगानिस्तानले पछिल्ला पाँच ओडीआई खेलमा जित हात पार्न सकेको छैन । अफगानिस्तान र श्रीलंकाबीच हालसम्म १० ओडीआई खेल भएका छन्। जसमध्ये श्रीलंकाले ६ र अफगानिस्तानले ३ खेल जितेको छ।

लाहोरमा वर्षाको न्यून सम्भावना छ। तर कुनै कारण दुई टोलीले अंक बाड्नु पर्ने अवस्था आए श्रीलंका सुपर फोरमा पुग्ने छ। अफगानिस्तानलाई सुपर फोरमा पुग्न ठूलो अन्तरको जित आवश्यक हुनेछ।