नुवाकोट, सरकारले आगामी २०८० वैशाख मसान्तभित्र विश्वासयोग्य कार्यान्वयन प्रक्रिया अघि नबढाए जेठ १ गतेदेखि बन्चरेडाँडा ल्याण्डफिलसाइटमा फोहोर फाल्न पूर्ण रुपमा रोक लगाइने भएको छ।
बन्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले फागुन ३० गते सरकारलाई ज्ञापत्र बुझाउँदै विश्वासयोग्य कार्यान्वयन प्रक्रिया अघि नबढाए जेठ १ गतेदेखि फोहोर फाल्न पूर्ण रुपमा रोक लगाउने जनाएको हो।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपलिकालाई ज्ञापन पत्र बुझाएको छ। विगतमा गरेका सम्झौताहरु कुनै पनि पूरा नगरेको र प्रभावित क्षेत्रका जनताहरुलाई दिएको अश्वासन लागू नभएकोमा समितिले अन्ततः स्थानीयहरु फेरि आन्दोलनमा उत्रिन बाध्य पारिएको समितिका संयोजक श्रीराम ढुङ्गाना र उप संयोजक सनत उप्रतीद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुन सक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधैँ बेवास्ता गरि राज्य शक्ति दुरुपयोग गरि दमन चक्रद्वारा उपत्यकाको फोहोरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ।’
सरकारले २०८० बैसाख मसान्तसम्म कार्यान्वयनसहितको विश्वासयोग्य धारणा प्रस्तुत गर्न पनि अल्टिमेटम दिइएको छ। पटक पटक सरकार, मन्त्री फेरिए पनि बन्चरेडाँडा र सिसडोलको अवस्था नफेरिएको भन्दै यसप्रति स्थानीय सरकार पनि जिम्मेवार हुन नसकेको विज्ञप्तिमा भनिएको छ।
प्रभाबित क्षेत्रमा मानव बस्तीरहित क्षेत्र कायम गर्ने वा फोहोरमैला निषेधित क्षेत्र कायम गर्ने यो नै पहिलो लडाइँ रहेको संयोजक ढुंगाना बताउँछन्। साथै, पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि विश्वास योग्य वातावरण सिर्जना नभएको र फेरि पनि पूरानै कदम दोहोरिए सदाको लागि बञ्चरेडाँडामा फोहोरमैला लैजान रोक लगाइने उनले बताए।