बैंकहरूको ब्याजदर घटाउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

HTV Khabar २४ असार २०८०, आइतबार ०२:०४ मा प्रकाशित

काठमाडौं, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन्। यसका लागि आफूले राष्ट्र बैंकलाई निर्देशन दिइसकेको समेत उनले बताएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे।

अर्थमन्त्री महतले कोभिडलगायत समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए। उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा भयो। त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु। सायद केही न केही सम्बोधन होला। त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ।’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको समेत बताए। उनले कृषिबस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गरे।

सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको दोहोर्याउँदै उनले भने, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने चाहे उद्योग व्ववसाय होस् चाहे कृषिजन्य व्यवसाय होस् त्यसलाई प्रोत्साहन दिने। हरेक चिज हामी आयातित बस्तुमामात्रै निर्भर हुने जुन परिस्थिति छ त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने एक तहको संरक्षण दिने नीति लिएका छौं।

साथै हामीले अनुदान पनि  उत्पादनको आधारमा दिने व्यवस्था गरेको छौं। त्यसको दुरुपयोग भयो भनेर उत्पादन जसले गरेर देखाउँछ, त्यसको आधारमा अनुदान दिने नीति पनि लिएका छौं।’