काठमाडौं महानगर शिक्षा विभागद्वारा सरोकारवालालाई उपलब्धिमूलक तालीम

सबिन पन्त 'पृथक' २१ कार्तिक २०७९, सोमबार १२:२५ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगर शिक्षा विभागद्वारा  नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई दुईदिने विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण प्रतिवेदन निर्माण सम्बन्धि तालीम उपलब्ध गराईएको छ।                                                                                                    कार्तिक २० र २१ गते चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको कक्षमा आयोजित दुईदिने तालीम कार्यक्रमको पहिलोदिन महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीको अध्यक्षतामा कार्यक्रम  समुद्घाटन गरिएको थियोे।                                                                                                                  शिक्षा अधिकृत लक्ष्मी पौडेलले संयोजन गरेको उक्त  कार्यक्रममा सहभागी पाँचवटा स्रोत केन्द्र अन्तर्गत रहेका २८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई स्रोत व्यक्ति यमनाथ चौलागाईंले स्वागत गरेका थिए। पहिलो दिनको कार्यक्रममा स्रोत व्यक्ति गोपालध्वज श्रेष्ठ र नाथ गुरागाइले तीन चरणमा सैद्धान्तिक ज्ञान् सम्बन्धि प्रशिक्षण दिएका थिए।                                                                                                      २१ गते दोस्रो दिनको कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र उपलब्धिमुलक भएको तालीममा सहभागी शिक्षकले बताए। प्रशिक्षण कार्यक्रममा सहभागी भएका सम्पूर्ण शिक्षकहरूलाई ५ समुहमा विभाजन गरि सामाजिक परीक्षण प्रतिवेदन निर्माण सम्बन्धि प्रयोगात्मक विधि अपनाई प्रशिक्षण गराईएको थियो। समुहमा निर्माण गरिएको सामाजिक परीक्षण प्रतिवेदन उपर अर्को  समुह निर्माण गरि मूल्यांकन गरिएको थियो।                                                                                   कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा शिक्षकको प्रतिनिधित्व गर्दै राजेन्द्र अधिकारीले कार्यक्रमको  समिक्षा गरेका थिए। अधिकारीले कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको र विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परीक्षण प्रतिवेदन निर्माणमा हुने गरेका त्रुटिलाई सच्याउन तालीमले मद्धत गर्ने बताए।                                                                                             कार्यक्रममा बोल्दै नारायण नेपालले माहोल नै भावुक बनाएका थिए। 'जीवन सिक्ने नै रहेछ, हेडमास्टर हुँदा म त जान्नेछु झैं घमण्ड हुनेगरेको तर अहिले आएर पनि म सिक्दैछु त्यसैले मलाई पश्चाताप लाग्ने गरेको छ।'  नेपालले भने। कार्यक्रममा प्रधानाध्यापकहरु कुमारी कमला राई, अनिल कुमार झा, देवराज गुरुङलगायतले तालिमको फाइदाका बारेमा चर्चा गर्दै आयोजक शिक्षा विभागलाई धन्यवाद दिएका थिए।                                                                                                            स्रोत व्यक्ति यमनाथ चौलागाईंले धैर्यतापूर्वक दुईदिन सम्म विद्यार्थी झैं कक्षामा बसेर प्रशिक्षणमा सहभागी भएकोमा सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकहरुलाई धन्यवाद दिएका थिए भने कार्यक्रम संयोजक लक्ष्मी पौडेलले सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन्।