ए डिभिजन लिगको उद्घाटन खेलमा खुमलटार र फ्रेण्ड्स खेल्ने

HTV Khabar ६ माघ २०७९, शुक्रबार ११:१४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजनको पहिलो खेल ललितपुरका दुई क्लबहरु फ्रेण्ड्स र एफसी खुमलटारबीच हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार एक कार्यक्रमका बीच खेलतालिका निर्धारण गरिएको हो। ए डिभिजन लिगका खेलहरु च्यासल मैदान र दशरथ रंगशालामा खेलाइनेछ। पुनर्निर्माण गरिएसँगै पहिलोपल्ट च्यासलमा ए डिभिजन लिगका खेलहरु सन्चालन गर्न लागिएको हो। लिगका खेल दिउँसो साढे २ र साँझ साढे ५ बजेबाट सुरु हुनेछ।

ए डिभिजनको नवप्रवेशी खुमलटारले फागुन १९ गते लिगको पहिलो दिन साँझ साढे ५ बजे फ्रेण्डससँगको खेलबाट आफ्नो पहिलो सिजन सुरु गर्दैछ। गत सिजन बी डिभिजनबाट चर्च ब्वाइज र खुमलटार क्रमसः विजेता र उपविजेताका रुपमा ए डिभिजनमा उक्लिएका थिए।

लिगको दोस्रो दिन फागुन २० गते ३ खेल हुनेछन्। नेपाल पुलिसले नवप्रवेशी चर्च ब्वाइजसँग च्यासल रंगशालामा खेल्नेछ भने एपीएफ र थ्रीस्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ। सोही दिनको तेस्रो खेल दशरथ रंगशालामा मनाङ मर्स्याङदी र हिमालयन शेर्पाबीच हुनेछ।

फागुन २१ गते पनि तीन खेल हुनेछन्। च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र सातदोवाटो युथ क्लबबीच खेल हुनेछ। सोही समयमा दशरथ रंगशालामा त्रिभुवन आर्मी एफसी र संकटाबीच खेल हुनेछ। दिनको तेस्रो खेल लिगको साविक विजेता मछिन्द्र र जावालाखेलबीच हुनेछ।

एन्फाले सुरुवाती पाँच चरणसम्मको तालिका सार्वजनिक गरेको छ। एन्फाले यसपल्ट ए डिभिजन लिग डवल राउण्ड रोविन फर्म्याटमा आयोजना गर्ने भनेको छ। यसअघि पुस २६ गतेका लागि निर्धारण गरिएको लिग क्लबसँगको सहमतिमा करिव २ महिना सारेर फागुन १९ पुर्याइएको हो।

ए डिभिजन लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउँछन्।