आक्रमणमा पर्नुअघि यादवले यस्तो भनेका थिए

HTV Khabar २० भाद्र २०८०, बुधवार ०५:४६ मा प्रकाशित

काठमाडौं, नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतले आज–भोलिमा नै रिहा गर्न आदेश दिने दाबी गरेका थिए।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री यादवले अदालतले खाँणलाई रिहा गर्न आदेश दिने दाबी गरेका हुन्। ‘आज भोलिमा अदालतले उहाँलाई न्याय दिन्छ। धेरै मान्छेसँग कुरा भएको छ,’ यादवले भने, ‘सबले भनेको बालकृष्ण खाँण निर्दोष छ।’

खाँणको खातामा अस्वभाविक तरिकाको रकम नदेखिएको उनले बताए। ‘उहाँको पालामा नक्कली वा सक्कली एक जना पनि नेपाली वा भुटानी अमेरिका गएका छैनन्,’ यादवले भने, ‘जसले हस्ताक्षर गर्‍यो, त्यो बाहिर छ। जसको हस्ताक्षर नै छैन त्यो भित्र छ।’

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादव पूर्व गृहमन्त्री खाँण निकट छन्। बालकृष्णलाई समात्नु प्रजातन्त्र समाप्त गर्ने शिलशिलाको सुरुवात भएको उनले बताए। रिपोर्टर्स क्लबको कार्यक्रममा यस्तो धारणा राखेर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।