रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

HTV Khabar २७ असार २०८१, बुधवार १०:१६ मा प्रकाशित

काठमाडौं,  रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए। रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ। मिनीट्रक सडकदेखि ५०\६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए। दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन्।