प्रहरीले पायो स्मार्ट लाईसेन्स कार्डरिडर मेशिन

HTV Khabar २ कार्तिक २०७९, बुधवार १२:४६ मा प्रकाशित

काठमाडौं, स्मार्ट लाइसेन्स जारी भएको ७ वर्षपछि प्रहरीले ‘स्मार्ट कार्ड रिडर’ मेसिन पाएको छ। आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागमा महानिर्देशक डा.टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई ‘स्मार्ट कार्ड रिडर’ र त्यसमा प्रयोग हुने ‘स्याम कार्ड’ हस्तान्तरण गरेका छन्।

एसियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारले ८४ लाख १८ हजार ६ सय ९६ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड खरिद गरेको थियो।

विभागको सूचना तथा सचार प्रविधि आयोजना अन्तर्गत किनिएका यी उपकरण अब देशभरको ट्राफिक प्रहरीले प्रयोग गर्न पाउने भएका छन्। यसअघि विभागले ट्राफिक प्रहरीलाई केही थान मात्रै यस्तो कार्ड रिडर मेसिन दिएको थियो।

जसले गर्दा स्मार्ट कार्डको आधिकारिकता जाँच गर्नबाट ट्राफिक प्रहरी नै वञ्चित थियो। अब स्मार्ट कार्डमा रहेको सवारी चालकको व्यक्तिगत विवरण अब ट्राफिक प्रहरीले सजिलै हेर्न सक्नेछ।

विभागले कार्ड रिडरसम्बन्धी एप्लिकेसन सफ्टवेयर पनि प्रहरीलाई दिएको छ। हस्तान्तरण गरिएका उपकरण तथा सफ्टवेयरको प्रयोगबाट नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको विभागका महानिर्देशक पाण्डेले बताए।

३० नोभेम्वर २०१५ देखि हालसम्म विभागले २९ लाख ४५ हजार स्मार्ट लाइसेन्स छापिसकेको छ। तर, सुस्त छपाइका कारण सेवाग्राहीले मार झल्दै आएका छन्। २ वर्षभन्दा बढीदेखि छापिएको लाइसेन्स कुरिरहेका चालकहरु राजस्व तिरेको रसिदलाई नै लाइसेन्सको रुपमा प्रयोग गर्न बाध्य छन्।

वैदेशिक रोजगारी तथा अध्ययनमा जाने तथा सुरक्षा निकायका कर्मचारीहरुलाई आवश्यक कागजातको आधारमा विभागले शीघ्र सेवा दिने गरेको छ।