काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। तर उनै रवि उपप्रधान तथा गृहमन्त्री बनेका छन्। गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौं पुगेको उजुरी प्राप्त भएसँगै प्रहरीले अनुसन्धान थालेको छ। अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि अनुसन्धान भइरहेपनि अब उही व्यक्ति गृहमन्त्री भएपछि निश्चित रूपमा छानबिन रोकिने छ। अबको प्रक्रिया के हुन्छ भन्ने काठमाडौं प्रहरीका एक अधिकारी भन्छन्, “उजुरी सहितको पत्र आएपछि अनुसन्धानका क्रममा थियौँ। माथिबाट कुनै निर्देशन आइसकेको छैन। सायद अब काम अघि नबढाउन दबाब आउला।’’ चितवन क्षेत्र नम्बर दुईबाट ठूलो मतान्तरसहित निर्वाचित भइसकेका लामिछानेविरुद्ध चुनाव सकिएको पर्सिपल्ट मङ्सिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गर्दै उजुरी पेश भएको थियो।
युवराज सफलले दिएको उक्त उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर दल दर्ता गरेर निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको आरोप छ।
उक्त उजुरीमा लामिछानेलाई तत्काल पक्राउ गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ।