शिक्षकले कहिलेसम्म पीडित हुनुपर्ने ? सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

HTV Khabar १८ अशोज २०७९, मङ्गलबार ०७:५८ मा प्रकाशित

काठमाडौं, सरकारले शिक्षकलाई सधैं तेस्रो नागरिकको दर्जामा राखेको छ। निजामती कर्मचारीले अनेकौं सेवा सुविधा पाएका छन्, आन्तरिक पर्यटनलाई प्रवर्द्धनका लागि भनेर बिदा र भ्रमण खर्च सरकारले दिनेगरेको छ तर देशभरका शिक्षकले भने भ्रमण भत्ता त परै जाओस् विद्यालय गएर विद्यार्थी पढाएको  तलब पनि सजिलोसँग पाउने गरेका छैनन्। तीन महिना चार महिनासम्म उधारो काम गर्नुपर्छ। देशको लागि डाक्टर, इन्जिनियर, सेना, प्रहरीलगायतका दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकहरू भने निरीह भएर बस्नुपरेको छ।                                                                                           निजामती कर्मचारीले निति निर्माण गर्दा पनि आफ्नै अनुकुल मात्रै निर्माण गर्ने तर शिक्षकलाई सधैं अन्याय नै गरिरहेका छन्। देशको शैक्षिक क्षेत्र धान्ने लाखौं शिक्षक अन्यायमा परिरहँदा पनि सहन बाध्य छन्। हुन त शिक्षकको निम्ति आवाज उठाउने बहानामा स्थापित संघसंगठन, शिक्षक महासंघ र यसका नेतृत्वकर्ता शिक्षकका नेता भनाउँदाहरुनै निवृत्त भएपछि राजनैतिक नियुक्ति नपाईने डरले दरिलो भाषामा बोल्ने गरेका छैनन्। जसको कारण शिक्षकहरू पिल्छिएर कर्म गर्न बाध्य छन्।                                                                                                बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ। 

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए।

भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको भनाइ छ। उनले भने, ‘बहुमत नपुगरे समयमा नगरसभाको बैठक बस्न सकेनौं। बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं। तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं।’

विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन। जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।

गाउँपालिका प्रमुख जवाहरलाल यादव भने चार चार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताएका छन्। ‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं तर अब दशैं लगत्तै बस्ने तयारी छ’, उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं त्यसैले ढिला भएको छैन। अर्को तिहार तथा छठ विशेष भएकोले समयमा शिक्षक, कर्मचारीले तलब पाउनुका साथै सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ।’

दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी तलब दिइसक्ने दाबी गरे।