आईपीएल २०२५ : सिजनको पहिलो सुपर ओभरमा दिल्लीले राजस्थानलाई हरायो

HTV Khabar ४ वैशाख २०८२, बिहीबार ०६:५० मा प्रकाशित

काठमाडौं, भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा यस सिजन पहिलोपटक सुपर ओभरमा गएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ।

निर्धारित २० ओभरको खेल बराबरी भएपछि दिल्लीले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको हो। सुपर ओभरमा राजस्थानले दिएको १२‌ रनको लक्ष्य दिल्लीले ४‌ बलमै पूरा गर्‍यो। ट्रिस्टन स्टब्सले विजयी छक्का प्रहार गरे।

त्यसअघि २० ओभरको खेलमा दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएपछि बराबरी हुँदै खेल सुपर ओभरमा गएको थियो।

राजस्थानका यशस्वी जैसवाल र नितिश रानाले अर्धशतक बनाउँदै समान ५१ रन बनाएपनि निर्धारित ओभरमा जित भने दिलाउन सकेनन्। कप्तान सन्जु सामसनले ३१ रन बनाउँदा ध्रुव जुरेल २६ रनमा रनआउट भए।

अन्तिम ओभरमा हितका लागि ९ रन आवश्यक हुँदा‌ मिचेल स्टार्कले शानदार योर्कर बलहरू प्रयोग गर्दै ८ रन मात्र दिए। अन्तिम बलमा २ रन चाहिँदा जुरेल रनआउट भएका थिए। मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनाएको थियो। अभिषेक पोरेलले सर्वाधिक ४९ रन बनाए भने केएल राहुलले ३८ तथा कप्तान अक्षर पटेल र ट्रिस्टन स्टब्सले समान ३४ रन बनाए।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा महीश थिक्साना र वानिन्दु हसरंगाले १-१ विकेट लिए। योसँगै ६ खेलमा पाँचौं जित निकालेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने ७ खेलमा ४ अंक भएको राजस्थान आठौं स्थानमा यथावत् छ।