आईपीएल आजदेखि फेरि सुरु हुँदै

HTV Khabar ३ जेठ २०८२, शनिबार १०:१६ मा प्रकाशित

काठमाडौं, भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदैछन्।

अघिल्लो शुक्रवार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो। त्यसअघि विहिवारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो।

आईपीएल पुन: सुरु हुँदाको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन्। खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ। आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन्।

अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ।शनिवारको खेलमा बेंगलुरु विजयी भए प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ भने कोलकाता बाहिरिने चौथो टिम बन्नेछ। कोलकाता विजयी भएमा प्लेअफको झिनो आशा जीवितै रहनेछ।

अंकतालिकामा हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ। बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथोमा छ।

यस्तै दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौं, कोलकाता १२ खेलमा ११ अंकसहित छैटौं र लखनउ ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ। हैदराबाद १२ खेलमा ७ अंकसहित आठौं, राजस्थान १२ खेलमा ६ अंकसहित नवौं र चेन्नई १२ खेलमा ६ अंकसहित १०औं स्थानमा छ।