सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा - स्वास्थ्य मन्त्री पौडेल

HTV Khabar २२ पौष २०८१, सोमबार ०६:१५ मा प्रकाशित

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन्। 

कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताएका हुन्। उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाई सकिएकोसमेत उल्लेख गरे। 

कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘अस्पतालले हाल सीमित स्रोत र साधनका बाबजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ’, उनले भने।