सन्दीप एसिया कप खेल्न आज पाकिस्तान जाँदै

HTV Khabar ११ भाद्र २०८०, सोमबार ०७:४२ मा प्रकाशित

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज सोमवार पाकिस्तान जाने भएका छन्।


जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आईतवार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ। पेशी सरेपछि सन्दीप  एसिया कपका लागि आज  पाकिस्तान जान लागेका हुन्। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज पाकिस्तान जाने बताए।


नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ। नेपालले त्यहाँ अभ्यास गरिरहेको छ। नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ।नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा मुल्तानमा खेल्नेछ भने भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।