ग्याष्ट्रोनोमी टुरिजमको माघे संक्रान्ति मेला भव्य रूपमा सम्पन्न

सबिन पन्त 'पृथक' १ माघ २०७९, आइतबार ०२:३४ मा प्रकाशित

बूढानीलकण्ठ वडा नं. ११ सूर्योदय चोकस्थित वृक्षालय रिसोर्टमा ग्याष्ट्रोनोमी टुरिजमले आयोजना गरेको प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला भव्य रूपमा सम्पन्न भएको छ।         

पहिलोपटक आयोजना भएको कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेलाको औपचारिक कार्यक्रम नगर प्रमुख मिठाराम अधिकारीले दीप प्रज्ववलन गरेर साथसाथै अन्यले जोर शंख, डमरू र घण्टा बजाएर अत्यन्तै नौलो किसिमले उद्घाटन गरिएको थियो। 

मेलामा विभिन्न प्रकारका रैथाने खानाका परिकारहरु उपलब्ध थिए। मेलामा सहभागी हुने अतिथिहरुलाई नि:शुक्ल रूपमा विभिन्न रैथाने व्यञ्जन स्थानीय महिलाहरुले बुनेको सालको पातको टपरीमा खुवाईएको थियो।  विभिन्न प्रकारका रैथाने खाद्यान्न, घरायसी र कृषिमा प्रयोग हुने ढिकी, जाँताे, ओखल, ठेकी-मदानी, हलोजुवा, घुम, टोप लगायतका सामाग्रीको रैथाने एग्री प्रोडक्टसले प्रदर्शनमा राखेको थियो। 

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा, कृषि मन्त्रालयका सचिव गोविन्द शर्मा, कृषि विभाग महानिर्देशक रेवती रेवक, बालि विकास तथा कृषि जैविक विवधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, नेपाल कृषि अनुसन्धान परिषद्का डा.बालकृष्ण जोशी,   बूढानीलकण्ठ -१२ का अध्यक्ष शम्भु भट्टराई तथा सरोकारवालाहरु, विभिन्न महिला समूहका प्रतिनिधिहरु, विद्यार्थी, शिक्षक,  स्थानीयबासी र पत्रकारहरु गरेर करिब दुईसय जनाको उपस्थिति रहेको थियो। 

जैविक विविधताको संरक्षण, प्रर्वद्धन र बजारीकरणमा टेवा पुर्‍याउने उदेश्यका साथ ग्याष्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल, इन्टरनेसनल नेपलिज सेफ सोसाइटी यूके र यात्रा अनलाइन टीभीको आयोजनामा वाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र राष्ट्रिय जिन बैंक नेपालको सहआयोजनामा उक्त मेला आयोजना गरिएको ग्याष्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालका अध्यक्ष रमेश भण्डारीले एचटिभी खबरलाई बताए।