चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा खाता खोलेर ५ हजार जम्मा गरिदिने

HTV Khabar १८ असार २०८१, सोमबार ०३:२९ मा प्रकाशित

काठमाडौं, चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।

नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो। 

स्थायी बासिन्दाका सन्ततिका नाममा मुद्दती खाता खोलिदिई सो रकम जम्मा गरिदिने नीति नगरपालिकाले लिएको छ। यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ।

बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ। चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दती खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

आईतवार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने नगरपालिकाले जनाएको छ।

सो अवसरमा नगर प्रमुख गिरीले बालबालिका १८ वर्ष पुगे पश्चात् उनीहरुको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए। उनले भने, ‘बालबालिका १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न रकमले केही सहजता प्रदान गर्न सक्छ।

नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकलाई पनि आफ्नो सन्तानको खातामा रकम थप गरि भविष्य सुनिश्चित गर्न म आग्रह पनि गर्दछु।’