‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन

HTV Khabar ८ कार्तिक २०७९, मङ्गलबार १२:३९ मा प्रकाशित

काठमाडौं, निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ।

‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो।

४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ। त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ।

आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाई अबदेखि यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ।